सार्वजनिक खरिद भन्नाले के बुझिन्छ ?
सार्वजनिक खरिद भन्नाले सार्वजनिक निकायहरु जस्तै नेपाल सरकारका, मन्त्रालय, पालिका, निगम, प्राधिकरण ईत्यादि द्वारा खरिद गर्ने कुनै पनि किसिमको मालसामान, निर्माण कार्य, परामर्श सेवा वा अन्य सेवा सम्झनु पर्दछ । यी सबै खरिद गर्न सार्वजनिक निकाय आफ्नै मनखुशी गर्न सक्तैनन् । यसका लागि नेपाल सरकार द्वारा ऐन जारी जारी गरिएको छ जसको नाम हो "सार्वजनिक खरिद ऐन, २०६३" ।
“मालसामान” भन्नाले चल वा अचल, सजीव वा निर्जीव जुनसुकै किसिमको वस्तु सम्झनु पर्छ र सो शब्दले त्यस्तो वस्तु आपूर्ति गर्ने कार्यको आनुषङ्गिक सेवा समेतलाई जनाउनेछ ।
“निर्माण कार्य” भन्नाले कुनै संरचना वा कुनै कुराको निर्माण गर्ने, पुनः निर्माण गर्ने, भत्काउने, मर्मत सम्भार गर्ने वा जीर्णोद्धार गर्ने कार्यसँग सम्बन्धित निर्माण स्थल तयार गर्ने, खन्ने, ठड्याउने, बनाउने, उपकरण वा मालसामान जडान गर्ने, सजाउने आदि जस्ता कार्य सम्झनु पर्छ र सो शब्दलेनक्सा बनाउने, प्रयोगशाला परीक्षण गर्ने, भूउपग्रहीय फोटो खिच्ने, भूकम्पीय परीक्षण गर्ने जस्ता निर्माण कार्यको आनुषङ्गिक सेवा समेतलाई जनाउनेछ ।
“परामर्श सेवा” भन्नाले कुनै अध्ययन, अनुसन्धान, सर्वेक्षण, डिजाइन, ड्रईङ सुपरिवेक्षण, तालीम, परीक्षण गर्ने काम, सफ्टवेयरको विकास वा यस्तै प्रकृतिका अन्य बौद्धिक वा पेशागत सेवा सम्झनु पर्छ ।
“अन्य सेवा” भन्नाले सवारी साधन, उपकरण वा मालसामान भाडामा लिने, ढुवानी गर्ने वा मालसामान मर्मत सम्भार गर्ने कार्य सम्झनु पर्छ ।
यति बुझिसक्दा तपाँईहरुको मनमा प्रश्न आउन सक्छ, सार्वजनिक खरिद नै किन, प्राईभेट कम्पनी जसरी किन सार्वजनिक निकायले खरिद गर्न सक्तैनन्। यसको उत्तर तपाईहरुले सोहि एनको प्रस्तावनामा पाउनुहुनेछ, जस बमोजिम सार्वजनिक खरिद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउन, सार्वजनिक खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, ईमान्दारिता, जवाफदेहिता र विश्वसनीयता प्रवद्र्घन गरी मितव्ययी तथा विवेकपूर्ण ढङ्गबाट सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न र सार्वजनिक निकायले निर्माण कार्य गर्दा, गराउँदा, मालसामान, परामर्श सेवा तथा अन्य सेवा खरिद गर्दा त्यस्तो खरिदको व्यवस्थापन क्षमता अभिवृद्धि गरी उत्पादक, बिक्रेता, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा सेवाप्रदायकलाई बिना भेदभाव सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुने समान अवसर सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, सार्वजनिक खरिद सम्बन्धमा व्यवस्था गर्न यस सार्वजनिक ऐन, २०६३ ल्याईएको हो ।
(स्मरण रहोस्, माथि उल्लेखित सम्पूर्ण विवरण सार्वजनिक खरिद ऐन, २०६३ बाट साभार गरिएको हो । यस्तै सार्वजनिक खरिद समर्पूण विवरण जान्न चाहानु हुन्छ भने सार्वजनिक खरिद ऐन, २०६३ तलको लिङ्क बाट डाउनलोड गरि जानकारी लिन सक्नुहुन्छ)
Link for Public Procurement Act, 2063 (PPA): https://ppmo.gov.np/content/7400/7400-public-procurement-act-2063-n/